हेडलाईन न्युज

सर्वोच्चको अन्तरिम आदेश : निजगढ विमानस्थल बनाउँदा जंगल फडानी नगर्नु

 ०६ पुष २०७६

काठमाडौं । सर्वोच्च अदालतले  निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जंगल फडानी नगर्न अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासहितको इजलाशले यस्तो आदेश दिएको हो। यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको छ।

सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले निजगढको जंगल फडानी नगर्न अन्तरिम आदेश दिँदै मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको जानकारी दिए। पौडेलका अनुसार यो मुद्दालाई एक महिनाभित्रै अन्तिम टुंगो लगाउने आदेशसमेत भएको छ।

जंगल फडानीले वातावरणीय असन्तुलन हुने उल्लेख गर्दै विमानस्थलको निर्माण काम रोक्न पूर्व प्रशासकहरु द्वारिकानाथ ढुङ्गेलसहितले दायर गरेको रिटमा अन्तरिम आदेश जारी भएको हो। रिट दायार गर्नेमा  वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जुहजुर पाँडे र भरत बस्नेतलगायत रहेका छन्।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालसले इआइए अदालतमा पेस गर्न सरकालाई आदेश दिएको थियो। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले रुख कटानीको विषयमा सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७६