सुनकोशी न्युज,
२०७६ माघ १७
काठमाण्डौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्। वुहानमा रहेका नेपालीहरूले अरू देशका साथीहरू घर फर्किए पनि आफूहरू सुनसान वुहानमा बस्नु परेको गुनासो गरेका छन्। सँगै बस्नेहरू फर्किएपछि आफूहरू एक्लै परेकाले मानसिक तनाव बढेको उनीहरूको भनाइ छ।
शुक्रबार साँझ सेतोपाटीसँग कुरा गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले उनीहरूको मर्का बुझेको र आवश्यक परे तत्काल फर्काउने गरी तयारी गरिरहेको बताए। ‘हामीले बेइजिङ र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेका छौं। वुहानमा रहेका सबै नेपालीलाई म आग्रह गर्छु तपाईंहरू नआत्तिकन बस्नुस्, सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ,’ ज्ञवालीले भने।
उनले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको बताए। ‘ठ्याक्कै यो दिन यो प्लेन आउँछ त भनेका छैनौं तर हाम्रा नागरिकलाई फिर्ता लिनुपर्छ। पक्रिया गर्दै गर्नुहोला भनेर पत्र पठाएका छौं,’ ज्ञवालीले भने,‘उहाँहरूलाई नेपालमा पनि छुट्टै ठाउँमा राख्नुपर्छ। त्यसका लागि टेकुलगायतका अस्पतालमा आइसोलेटेड बेडको व्यवस्था गरिरहेका छौं।’ उनले मिडियामा आएजस्तो अवस्था वुहानमा नरहेको पनि बताए।
‘बेइजिङस्थित दूतावासले वीच्याटमा ग्रुप बनाएर उहाँहरूसँग निरन्तर सम्पर्क गरिरहेको छ। विश्वविद्यालयले पनि सबै व्यवस्था गरेको छ। उहाँहरू एक्लै घरभित्र बस्नु परेकाले आत्तिनु भएको हो,’ ज्ञवालीले भने,‘बिहीबारदेखि डब्लुएचओले पनि आपतकाल घोषणा गरेकाले अहिले झन् दबाब बढेको छ।’
चीनजस्तो देशले आफ्नो पूरै तागत लगाउँदा त यो भाइरस फैलिरहेकाले नेपालमा यसको संक्रमण देखिए अवस्था झन् जटिल हुने ज्ञवालीले बताए। ‘अरू घटनाजस्तो उद्धार गरेर परिवारलाई जिम्मा लगाउने होइन, त्यही भएर हामीले यहाँ पनि धेरै तयारी गर्नुपर्नेछ,’ ज्ञवालीले भने।
Add Comment