समाचार हेडलाईन न्युज

शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ

सुनकोशी न्यूज

जेष्‍ठ २० गते, बुधबार

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट लुटिएको भनिएको हात्तीको दाह्रासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

हात्तीको दाह्रा बिक्री, वितरण तथा सञ्चय भइरहेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरेको हो। कार्यालयका एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरूबाट हात्तीका दाह्रा बरामद गरिएको छ।

पक्राउ पर्नेमा काठमाडौंका राजिब महर्जन र आयुष महर्जन, गोरखाका टेकप्रसाद गुरुङ र सन्तबहादुर भुजेल तथा बैतडीका पुरन बोहरा रहेका छन्।

प्रहरीले प्राप्त सूचनाका आधारमा राजिब महर्जनको घरमा खोजतलास गर्दा घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला पारेको जनाएको छ। सो क्रममा उनको कोठाबाट ट्रामाडोल औषधिका १५० क्याप्सुलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका पुरन बोहराले थप दुई टुक्रा हात्तीको दाह्रा सन्तबहादुर भुजेलसँग रहेको जानकारी दिएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो। भुजेलले आफ्नो कोठामा बोराभित्र बेरेर दुई वटा दाह्रा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ २४ गते लुटिएको हात्तीको दाह्रा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २०, २०८३

 

 

ताजा अपडेट