खेल मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने

सुनकोशी न्यूज

 जेष्‍ठ १९ गते, मंगलबार

 

काठमाडौं  – आगामी जेठ २८ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडी टेलिभिजन च्यानल र डीगो (DGO) एपमार्फत मात्र प्रत्यक्ष प्रसारण हुने भएका छन्।

नेपालका लागि विश्वकप प्रसारण अधिकार प्राप्त कम्पनी एसप्रो मिडियाले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आधिकारिक टेलिभिजन तथा ओटीटी (OTT) सब्स्क्रिप्सन अभियान सार्वजनिक गर्दै विश्वकप प्रसारणसम्बन्धी योजना घोषणा गरेको हो।

कम्पनीका अनुसार विश्वकपका सबै १०४ खेलहरू नेपालमा विशेष अधिकारसहित प्रसारण गरिनेछ। फिफाबाट नेपालका लागि एक्सक्लुसिभ प्रसारण अधिकार प्राप्त भएकाले विदेशी टेलिभिजन च्यानल वा अन्य स्ट्रिमिङ प्लेटफर्महरूले नेपालभित्र विश्वकप प्रसारण गर्न पाउने छैनन्।

विश्वकप हेर्न इच्छुक दर्शकका लागि तीन प्रकारका प्याकेज उपलब्ध गराइएको छ। टेलिभिजन प्याकेजको शुल्क करसहित ९९९ रुपैयाँ, मोबाइल प्याकेजको ५४९ रुपैयाँ तथा मोबाइल र ल्यापटप दुवैमा हेर्न मिल्ने प्याकेजको शुल्क ९९९ रुपैयाँ निर्धारण गरिएको छ।

टेलिभिजनमार्फत खेल हेर्न चाहने दर्शकले हिमालय स्पोर्ट्स एचडी च्यानलमा देखाइने क्यूआर कोड स्क्यान गरेर वा इसेवा तथा खल्ती जस्ता डिजिटल वालेटमार्फत प्याकेज खरिद गर्न सक्नेछन्। मोबाइल तथा ल्यापटप प्रयोगकर्ताले डीगो एप डाउनलोड गरी वा डिजिटल वालेटमार्फत आवश्यक प्याकेज खरिद गरेर विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ।

एसप्रो मिडियाले सब्स्क्रिप्सन सक्रिय भएपछि मोबाइल नम्बर र डिभाइस स्थायी रूपमा लिंक हुने भएकाले प्याकेज खरिद गर्दा सही मोबाइल नम्बर र प्रयोगमा रहेको डिभाइस प्रयोग गर्न आग्रह गरेको छ।विश्वकप प्रसारणका क्रममा कुनै प्राविधिक समस्या आएमा टेलिभिजन सेवा प्रदायक वा डीगो एपको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

यससँगै नेपाली फुटबल समर्थकहरूले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ का सबै खेलहरू आधिकारिक माध्यमबाट उच्च गुणस्तरमा हेर्न सक्ने भएका छन्।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १९, २०८३

 

 

ताजा अपडेट