मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पाठ्यक्रममै खेलकुद अनिवार्य गर्ने सरकारको तयारी : शिक्षामन्त्री पोखरेल

सुनकोसी न्यूज

चैत्र १७ गते मंगलबार

काठमाडौं। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित विद्यालयको पाठ्यक्रममै खेलकुदलाई अनिवार्य रूपमा समावेश गर्ने घोषणा गरेका छन्।मंगलबार राष्ट्रिय खेलकुद परिषद्को निरीक्षणका क्रममा मन्त्री पोखरेलले अब खेलकुदलाई औपचारिक शिक्षासँग जोड्दै नीतिगत सुधारमार्फत कार्यान्वयन गरिने स्पष्ट पारे।

“अब हामी नीति निर्माणकै तहमा छौं, पाठ्यक्रम विकास केन्द्रसँग सहकार्य गरेर विद्यालयको पाठ्यक्रममै खेलकुद समावेश गर्छौं,” उनले दृढतापूर्वक भने।उनका अनुसार आगामी पाँच वर्षभित्र ग्रासरुट तहबाटै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सरकारले अघि सारेको छ। अहिले नेपालमा सानै उमेरदेखि व्यवस्थित प्रशिक्षण नपाउँदा खेलाडी उत्पादनमा चुनौती देखिएको उनले औंल्याए।

काठमाडौं महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव सुनाउँदै उनले अब खेलकुदलाई कानुनी र नीतिगत रूपमा शिक्षासँग जोडेर संस्थागत विकास गरिने बताए।मन्त्री पोखरेलले नेपालमा अधिकांश खेलाडीहरू नेपाल प्रहरी, सेना र एपीएफ जस्ता सुरक्षा निकायबाट उत्पादन हुने अवस्था रहेको उल्लेख गर्दै सानै उमेरदेखि डाइट, प्रशिक्षण र अवसर सुनिश्चित गर्न सके खेलकुद क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे।

उनले खेलकुदले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए। साथै, आफूलाई ‘मन्त्री’ होइन ‘टिम मेम्बर’का रूपमा लिन आग्रह गर्दै उनले सबै सरोकारवालालाई एकजुट भएर काम गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: मङ्लबार, चैत्र १७, २०८२

 

 

ताजा अपडेट