मुख्य समाचार समाचार हेडलाईन न्युज

देशका ठूला नेतामाथि अनुसन्धानको घेरा: देउवा–ओली–प्रचण्डको सम्पत्ति जाँच सुरु

सुनकोसी न्यूज

चैत १५  गते आइतबार

दीपक खड्का पक्राउपछि अनुसन्धान थप तीव्र, देउवा–ओली–प्रचण्डको सम्पत्तिमा चासो

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेपछि उक्त ब्यूरोले अनुसन्धानलाई तीव्र बनाएको हो।

यसैक्रममा आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको छ। सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार विभागको निर्देशनअनुसार खड्कालाई नियन्त्रणमा लिइएको हो।

तीन पूर्वप्रधानमन्त्रीको विषयमा भने सीआईबीले औपचारिक टिप्पणी गर्न नचाहे पनि गृह स्रोतका अनुसार विभागको पत्रपछि उनीहरूको सम्पत्तिबारे अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ।

यसअघि ‘जेनजी आन्दोलन’ का क्रममा शेर बहादुर देउबा को बूढानीलकण्ठस्थित निवासमा नगद भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित निकायले मुचुल्का उठाएको थियो। साथै पुष्पकमल दाहाल (प्रचण्ड) निकट परिवारको निवास र केपी शर्मा ओली को निवासबाट समेत विवरण संकलन गरिएको थियो।

हाल उक्त घटनासँग जोडिएको अनुसन्धानलाई थप विस्तार गर्दै सीआईबीले सम्पत्ति शुद्धीकरणको कोणबाट छानबिन अगाडि बढाएको जनाइएको छ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०८२

 

 

ताजा अपडेट