बागमती हेडलाईन न्युज

अस्पतालसहितका सार्वजनिक स्थललाई डिस्इन्फेक्सन गर्न थाल्यो काठमाडौं महानगर

काठमाडौं, १२  चैत्र  । लकडाउन अवधिमा अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको काठमाडौँ महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्र अस्पतालसहितका सार्वजनिक स्थानलाई (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरिएको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । १ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएको हो ।

आज ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएका छन् । यो भीड गर्ने समय होइन तर अस्पताललगायत केही सार्वजनिक स्थानमा मानिसहरुको आवतजावत हुन्छ । हामी व्यक्ति—व्यक्तिमा हुन सक्ने संक्रमण रोकथाम गर्ने प्रयास गर्दैछौं, मेयर शाक्यले थप्दै भन्नुभयो — अहिले सरुवा रोग अस्पताल टेकुमा बिरामी र उनीहरुका आफन्तहरु आउने गरेको छन् । त्यस अस्पताल क्षेत्रलाई जीवाणु, कीटाणुरहित बनाउन जरुरी छ । उहाँले भन्नुभयो — ‘अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो ।

हामी सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडकलाई पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’ ‘महानगवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य भइरहेको छ ।’ जनजीवन व्यवस्थापनका बिषयमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो — ‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सकर्तता र संयमता अपनाउनु पर्छ । कोही भोको पर्दैन, कोही भोकले मर्दैन हामीले यसअघिको सामान्य अवस्थामा पनि सञ्चालन गरेको अभियान हो ।

यस जोखिमपूर्ण परिस्थितिमा आपतमा परेकालाई हाम्रो साथ रहन्छ ।’ उहाँले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खवर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो । संक्रमण व्यवस्थापन गर्न नियमित र सक्रियतापूर्वक काम गर्ने प्रमुख शाक्यको भनाइ छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७६