बागमती हेडलाईन न्युज

पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग महानगरपालिकाको सम्झौता

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच सम्पन्न सम्झौताबमोजिम महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामान खरिद गर्नुपर्नेछ । खाली सिसिसँग सम्झौता गर्नका लागि महानगरले फागुन १३ गते निर्णय गरेको थियो ।
सम्झौताअनुसार महानगरबासी बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि खाली सिसि व्यवस्थापनले पहिचान झल्कने डे«स लगाएका व्यक्ति सामान खरिद गर्न पठाउनेछ । यसरी खरिद गरिएको सामान संकलन गर्ने, प्याकिङ्ग गर्ने, ढुवानी गर्ने जिम्मेवारी खाली सिसिले नै गर्नेछ । यसरी खरिद गरिने सामानको प्रकृतिअनुसार मुल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा बिद्युतीय गरी ५ प्रकृतिका पुनप्रयोगीय फोहोर खरिद गर्ने उल्लेख छ । कागज प्रकृतिका खबर कागजको प्रतिकिलो १० रुपैयाँ, किताब ७ रुपैयाँ, कापीको १२ रुपैयाँ, ए४ साइज कागजको ७ रुपैयाँ, म्यागाजिनको ७ रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ, कार्डबोर्डको ३ रुपैयाँ, अण्डाको क्रेटको प्रतिकिलो ३ रुपैयाँ राखिएको छ । यो मुल्य सामान खरिद गरिने स्थानका आधारमा पनि तय हुनेछ । खालीसिसिकी अध्यक्ष आयुषी भन्नुहुन्छ — लामो दुरीबाट ढुवानी गर्नुप¥यो भने मुल्य कम हुन सक्छ । यो मुल्य चलनचल्तीको बजारभाउले पनि निर्धारण गर्न सक्छ । अर्थात् केही रुपैयाँ वा पैसा तलमाथि हुनसक्छ ।

अनुसूचीमा राखिएको दोश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरअन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मुल्य प्रति गोटा ५० पैसा राखिएको छ । त्यस्तै तेश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य बस्तुलाई राखिएको छ । यसमा स्याम्पोको भाँडा र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय बस्तुका खोलको मुल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ । धातुजन्य फोहोरअन्तर्गत अल्मुनियनका सामानको प्रतिकिलो ९० रुपैयाँ, सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थाअनुसार मुल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै धातु, ब्रास, तामा, स्टिल र टिन मुल्य प्रतिकिलो क्रमशः २०, ३८०, ४५०, २० र ४ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी बिद्युतीय फोहोरमा क्यामरा, कम्प्युटर र कम्प्युटरजन्य उपकरण, मोवाइल र मोबाइलजन्य उपकरण, टेलिभिजन र टेलिभिजनजन्य उपकरण तथा तारहरु राखिएको छ । यिनीहरुको मुल्य भने सामानको परिणाम र अवस्था अनुरुप निर्धारण गरिने व्यवस्थापनकी अध्यक्ष के. सी. को भनाइ छ ।

यी सामानको मुल्य हामी वडा कार्यालयमार्फत स्थानीयको सूचनामा पु¥याउँछौं, महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — आवश्यकता अनुसार स्थानीयमा सूचना प्रवाह गर्न राखिने डिजिटल बोर्डको दायित्व खालीसिसिले निर्वाह गर्नेछ । महानगरको अनुगमन र निरीक्षणमा सम्पादन हुने काम चित्त बुझ्दो नभए ३५ दिनको सूचना दिएर सम्झौता भङ्ग हुन सक्ने व्यवस्था गरिएको छ । ५ बर्षका लागि गरिएको सम्झौताअनुसार खाली सिसिले हरेक ४ महिनामा मुल्य पुनरावलोकन गरेर महानगरलाई परिवर्तित मुल्यका बारेमा जानकारी गराउनुपर्नेछ । यसबाट महानगरबासी फोहोरलाई श्रोतमा बर्गीकरण गर्ने बानीको बिकास हुने विभागका निमित्त प्रमुख श्रेष्ठको अपेक्षा छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: मङ्लबार, चैत्र ४, २०७६