गण्डकी शिक्षा/स्वास्थ्य

‘स्वास्थ्य सेवा सहज बनाऊ’

दमौली, ३१ असार । उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा सहज र सरल बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालको आज निरीक्षण गर्दै उहाँले बिरामीले सहज रूपमा सेवा पाउनुपर्ने तथा स्वास्थ्यकर्मी संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो । “देशमा अहिले विपद्को अवस्था छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ”, मन्त्री यादवले भन्नुभयो । विपद्को समयमा स्वास्थ्य संस्थाले औषधि पर्याप्त मात्रामा भण्डारण गर्नुपर्ने तथा स्वास्थ्यकर्मी जुनसुकै समयमा पनि उपलब्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री यादवले नागरिकलाई स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी रूपमा उपलब्ध गराउन स्थानीय तहका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको योजना रहेको बताउनुभयो । बन्दीपुर अस्पतालको स्तरोन्नतिका साथै आवश्यक उपकरण उपलब्ध गराउन आफू सकारात्मक रहेको उहाँको भनाइ थियो । मन्त्री यादवलाई गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा र अस्पताल प्रमुख डा डिबी क्षेत्रीले अस्पतालको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६

 

 

ताजा अपडेट