मुख्य समाचार समाचार हेडलाईन न्युज

‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित

सुनकोशी न्यूज

जेष्ठ‍ २० गते, बुधबार

काठमाडौं  – प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले राष्ट्रिय सभामा लगातार विरोध जारी राखेका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठक पनि विपक्षी सांसदहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरे पनि विरोध कायम रहेपछि बैठक जेठ २६ गते दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै ‘भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन माग गरिरहेका छन्।

प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर राष्ट्रिय सभामा लगातार तेस्रो दिन अवरोध भएको हो। यसअघि सोमबार र मंगलबारका बैठकहरू पनि विपक्षी दलको विरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए।बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो। तर विपक्षी दलहरूको अवरोधका कारण छलफल प्रक्रिया अघि बढ्न सकेन।

विपक्षी दलहरूले प्रधानमन्त्रीले राष्ट्रिय हित र सीमासम्बन्धी संवेदनशील विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने अडान कायम राखेका छन् भने सत्तापक्षले संवादमार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २०, २०८३

 

 

ताजा अपडेट