Uncategorized मुख्य समाचार विदेश समाचार हेडलाईन न्युज

कम्युनिस्ट नेता कार्यकर्ताले अब अमेरिकाको ग्रीनकार्ड र नागरिकता नपाउने

 

सुनकोशीन्यूज
२०७७ असोज १९ गते सोमबार

काठमाडौं। कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको नयाँ नीतिमा यस्तो व्यवस्था गरिएको छ । अक्टोबर २ मा जारी गरिएको नयाँ नीतिअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट पार्टीका भातृ संगठनहरुका सदस्यले पनि अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् ।

नयाँ नीतिको दस्तावेजमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था गरेको छ । अमेरिकी कंग्रेसले देशको सुरक्षाको लागि यो नयाँ नीति पारित गरेको बताइएको छ । यो नयाँ नीति अमेरिका र चीनबीच बढिरहेको तनावका कारण ल्याइएको विश्वास गरिएको छ ।

यो नयाँ नीतिले चीनमात्र नभइ नेपालसहितका कैयौं देशका कम्युनिष्ट पार्टीसँग आबद्ध व्यक्तिहरु अमेरिकाका लागि अस्वीकार्य हुनेछन् । अहिले कम्युनिष्ट पार्टीका सक्रिय सदस्य भएका मात्र नभइ विगतमा कम्युनिस्ट पार्टीमा आबद्ध रहेकाहरु पनि यो कानुनअनुसार अमेरिकामा स्थायी बसोवास पाउनका लागि अयोग्य हुनेछन् । यसअघि नै अमेरिकामा स्थायी बसोवास अनुमति पाइसकेकाहरुको हकमा भने नयाँ नीतिमा केही उल्लेख छैन ।

प्रकाशित मिति: सोमवार, अशोज १९, २०७७