सुनकोशी न्यूज
मंसिर ४ गते, शुक्रबार
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ। यसैक्रममा आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको छ।
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए। तर उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन पठाएर आफू बाहिरिएका छन्।
आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक तयारीबारे दलहरूको सुझाव लिन छलफल आयोजना गरेको हो। प्रदेश र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा पनि दलहरूको धारणा बुझ्न लागिएको छ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते पूरा हुँदैछ।जनप्रतिनिधिको कार्यकाल समाप्त हुन लागेसँगै आयोगले निर्वाचनको मिति र व्यवस्थापनसम्बन्धी तयारी अघि बढाएको हो। राष्ट्रिय मान्यताप्राप्त दलहरूसँगको छलफलपछि आयोगले अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने तयारी गरेको छ।















Add Comment