विदेश हेडलाईन न्युज

पेट्रोल बम आक्रमणमा पश्चिम बंगालका मन्त्री घाइते

सुनकोशी न्युज
२०७७ फाल्गुण ६ गते विहिबार
पश्चिम बंगाल, भारत। भारतीय राज्य पश्चिम बंगालका एक जना मन्त्री बम हमलामा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार राज्यका श्रममन्त्री जाकिर हुसेनलाई लक्षित गरी बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा पेट्रोल बम आक्रमण भएको थियो। मुर्सिदावादको जांगीपुरबाट एमएलएसमते रहेका हुसेन उद्यमी पनि हुन्। उनको बिडी बनाउने कम्पनी छ।

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजेतिर बम हमला भएको हो। बम बिस्फोट हुँदा उनको खुट्टामा चोट लागेको छ। उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

सामाजिक सञ्जालहरूमा आएका बम आक्रमणका भिडिओमा हुसेन रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ मा समर्थकहरूसँग हिँडिरहेका बेला ठूलो बिस्फोट भएको थियो।

मन्त्री हुसेनमाथि भएको आक्रमणको तृणमूल कांग्रेसले भत्सर्ना गरेको छ। मुर्सिदावादका तृणमूल अध्यक्ष अबु ताहेरले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन प्रहरीलाई अनुरोध गरिएको बताए। कंग्रेस आई र भारतीय जनता पार्टीले पनि आक्रमणको निन्दा गर्दै पश्चिम बंगालमा शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन्।

पश्चिम बंगालमा एमएलएमाथि आक्रमण हुने घटना यसअघि पनि हुने गरेका थिए। राज्यका मन्त्रीमाथि नै आक्रमण भएको पछिल्लो समयको यो पहिलो घटना हो।

पश्चिम बंगालमा अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ६, २०७७