प्रदेश नम्बर ५ को रूपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले मेयर, उपमेयरको चीन भ्रमणमा दुई लाख ९१ हजार रूपैयाँ सकेको छ।
भदौ १३ गतेदेखि २२ गतेसम्म मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरदेवी चौधरी चीन भ्रमणमा गएको खर्च नगरपालिकाले भुक्तानी दिने निर्णय गरेको छ।
नगरपालिकाको गत शनिबार बसेको बैठकले चीन भ्रमण खर्च दुई लाख ९१ हजार सात सय २० रूपैयाँ भुक्तानी गर्ने निर्णय गरेको हो।
‘यो अफिसियल्ली भिजिट हो, त्यही भएर नगरपालिकाले नै खर्च व्यहोर्छ,’ मेयर घिमिरेले सेतोपाटीसँग भने, ‘घुम्न गएको होइन, लगानी सम्मेलनका लागि चिनियाँ व्यापारीहरू, लगानीकर्ताहरूसँग छलफलका लागि चीन गएका थियौं।’
यस्तै नगरपालिकाले प्रेस सल्लाहकार पनि राखेको छ। वीपी गौतमलाई प्रेस सल्लाहकार नियुक्त गरेको पनि उनले जानकारी दिए। गौतमलाई नगरपालिकाले मासिक ३५ हजार नौ सय रूपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ।
‘नगरपालिकाले आफ्नै बुलेटिन निकाल्छ। त्यसमा काम गर्नुपर्यो। सूचना दिने काम पनि हुन्छ त्यसका लागि प्रेस सल्लाहकार राखेका हौं,’ उनले भने, ‘अरू नगरपालिकाहरूले पनि राखेका छन् सूचना आदान प्रदानमा सहज होला भनेर राखेका हौं।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणमा कडाइ गरेको छ भने स्थानीय तहमा पनि जथाभावी पद सिर्जना गरी जागिर खुवाउने प्रवृत्ति रोक्न पटकपटक पत्राचार गर्दै आएको छ।
दरबन्दी र ज्यालादारी कर्मचारीबाहेक स्थानीय तहलाई नयाँ पद सिर्जना गरी कर्मचारी नराख्न पनि मन्त्रालयले आग्रह गर्दै आएको छ तर स्थानीय तहले पालना गरेका छैनन्।
Add Comment